सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहाइ गर्न माग गर्दै सञ्चारकर्मीहरू विरोधमा उत्रेका छन् ।
नेपाल पत्रकार महासंघले काठमाडौँ प्रहरी परिसर, भद्रकालीमा धर्नासँगै विरोध गरेको हो। कालोपट्टी लगाएर गएका सञ्चारकर्मीहरूलाई प्रहरीले रोक्न खोज्दा केही धकेलाधकेलसमेत भएको छ ।
श्रेष्ठको रिहाइ तथा प्रेस स्वतन्त्रताको पक्षमा महासंघले धर्ना दिएको हो । धर्नामा पत्रकार तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको सहभागिता रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले दिएको जानकारी अनुसार श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो ।
उनले भने, “श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको थियो। अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो। बिहीबार अदालतमा पेस गर्छौं ।”
जनआस्था साप्ताहिकमा प्रकाशित एक समाचारको विषयलाई लिएर प्रहरीले श्रेष्ठलाई पक्राउ गरी प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको हो ।
उनको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघ लगायतले आपत्ति जनाउँदै रिहाइको माग गरेका छन् । उनीहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।
चार दशकदेखि पत्रकारितामा सक्रिय श्रेष्ठ नेतृत्वको जनआस्था मिडियाले स्थापनाको तीन दशकभन्दा बढी समयदेखि सरकार र सरकारी अधिकारीहरुबाट हुने गरेका गैरकानूनी कार्यको पर्दाफास गर्दै आएको जनआस्थाले जनाएको छ । विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् ।