पहिरोले घर पुरिँदा रोल्पामा दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

बिहीबार, साउन २८, २०८३

रोल्पा । अविरल वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराकी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर रहेका छन् ।

पहिरोमा परी सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएका छन् । उनीहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ । दुवै घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर घरसहित गोठ पुरिएको हो । घटनास्थलमा गएराति प्रहरी टोली पुगेको थियो ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार पहिरोबाट करिब ६ वटा घर तथा गोठमा क्षति पुगेको छ । घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०८:४८
प्रतिक्रिया दिनुहोस्