दुई सचिवले दिए एकसाथ राजीनामा, पोखरेलको थियो अझै एक वर्ष बढी अवधि

बुधबार, साउन २७, २०८३

काठमाडौं । सरकारका दुई जना सचिवले एकैपटक पदबाट राजीनामा दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालयका सचिव कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बाबुराम अधिकारीले दिएको राजीनामा सरकारले स्वीकृत गरेको हो।

सचिव अधिकारीले भने नियमित अवकाशको समय नजिकिँदै गर्दा पदबाट राजीनामा दिएका हुन्। उनी आगामी २०८३ भदौ ४ गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए। सेवा अवधि सकिनुअघि विशिष्ट श्रेणीका कर्मचारीले राजीनामा दिने अभ्यास यसअघि पनि रहँदै आएको छ।

तर, सचिव पोखरेलको राजीनामा भने नियमित अवकाशभन्दा निकै अघि आएको छ। उनको सेवा अवधि अझै करिब १४ महिना बाँकी थियो। ५८ वर्षे उमेर हदका कारण उनी २०८४ भदौ २३ गतेसम्म सेवामा रहने अवस्थामा थिए।

पछिल्लो समय निजामती सेवाभित्र असन्तुष्टि बढिरहेको देखिएको छ। गत असार महिनामा मात्रै सहसचिव तहका ८ जनासहित २०८ जना कर्मचारीले राजीनामा दिएका थिए। यद्यपि, लामो सेवा अवधि बाँकी रहेका विशिष्ट श्रेणीका कर्मचारीले भने यसअघि राजीनामा दिएका थिएनन्।

मुख्य सचिवको नियुक्ति, पछिल्ला सरुवा तथा सरकारको कार्यशैलीप्रति केही उच्च तहका कर्मचारी असन्तुष्ट रहेको बताइएको छ। यही असन्तुष्टिका कारण पछिल्लो समय सचिव तहमा समेत राजीनामाको क्रम देखिन थालेको कर्मचारी स्रोतको दाबी छ।

यसैबीच, हालै सरुवामा परेका अर्का एक सचिवले समेत आफू पदबाट राजीनामा दिने तयारीमा रहेको बताएका छन्। उनले यसबारे सरकारका केही मन्त्रीलाई समेत जानकारी गराइसकेको बताइएको छ। यससँगै दुई सचिवको राजीनामासँगै थप केही विशिष्ट श्रेणीका कर्मचारीले समेत पद त्याग्न सक्ने चर्चा सुरु भएको छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १३:२७
प्रतिक्रिया दिनुहोस्