सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको पहिलो साता विश्वासको मत लिने तयारी गरेका छन्। यसअघि साउनको अन्तिमतिर विश्वासको मत लिने तयारी भए पनि केही प्रदेशसभा सदस्य बाहिर रहेकाले मिति सारिएको हो।
मुख्यमन्त्री आचार्यले सम्भवतः भदौ १ गते विश्वासको मत लिने तयारी भइरहेको बताएका छन्। त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्ने तयारी भइरहेको छ।
नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको हो।
विश्वासको मत लिएपछि सत्ता साझेदार एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच मन्त्रालय बाँडफाँट गरी सरकार विस्तार गर्ने तयारी छ। नेकपालाई अर्थसहित तीन मन्त्रालय दिने विषयमा प्रारम्भिक छलफल भए पनि कुन–कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन।
जनता समाजवादी पार्टी नेपाललाई समेत सरकारमा निरन्तरता दिने तयारी छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने सम्भावनाबारे पनि सत्ता गठबन्धनभित्र छलफल भइरहेको छ। मुख्यमन्त्री आचार्यले राप्रपा सरकारमा आउन चाहे सहकार्य गर्न सकिने संकेत गरेका छन्।
८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ। एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले सरकारलाई बहुमत पुर्याउन थप दलको समर्थन आवश्यक देखिएको छ।