सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बास नेपालले बाँकेको नरैनापुर गाउँपालिका–२, लक्ष्मणपुरका महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण गरेको छ ।
एफकेबी यूकेको सहयोगमा बास नेपालद्वारा सञ्चालित ‘नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता, शिक्षा तथा व्यवस्थापन’ कार्यक्रम अन्तर्गत लक्ष्मणपुरका एक सय जना महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण गरिएको हो ।
कार्यक्रममा नरैनापुर गाउँपालिकाका विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्ने किशोरी, विभिन्न आमा समूहका प्रतिनिधि तथा स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा फ्रिडम किट ब्याग परियोजनाकी कार्यक्रम व्यवस्थापक रमिता शाह र शिक्षा अधिकृत मिना घर्ती मगरले महिनावारी स्वच्छतासम्बन्धी शिक्षा प्रदान गर्नुका साथै फ्रिडम किट ब्यागको प्रयोग विधिबारे डेमो प्रदर्शन गरी सहभागीलाई जानकारी गराएका थिए ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नरैनापुर गाउँपालिका–२ का वडा सदस्य फातिमा पठानी, वडा सदस्य पुष्पा कुमारी रैदास, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरिका प्रसाद यादव, शिक्षक सहजराम साहु, नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका नवीन बुढा क्षेत्री तथा फ्रिडम किट ब्याग परियोजनाका लेखा अधिकृत प्रदीप बोहरा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका बुढा क्षेत्रीले बास नेपालले निःशुल्क उपलब्ध गराएको फ्रिडम किट ब्यागको सही सदुपयोग गर्न सहभागीलाई आग्रह गरे । उनले महिलाको महिनावारीसम्बन्धी समस्यालाई प्राथमिकतामा राख्दै आफ्नो पालिकामा कार्यक्रम सञ्चालन गरेकोमा बास नेपाललाई धन्यवाद समेत दिए ।
त्यस्तै, आदर्श माध्यमिक विद्यालयका शिक्षक साहुले बजारमा पाइने डिस्पोजेबल सेनेटरी प्याडको प्रयोगबाट हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरण गर्नुका साथै खर्च समेत बचत गर्न पुनःप्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याड उपयोगी हुने बताए । उनले बास नेपालले निःशुल्क वितरण गरेको फ्रिडम किट ब्यागको सही सदुपयोग गर्न सहभागीलाई आग्रह गरे ।
कार्यक्रममा नरैनापुर गाउँपालिका–२ की वडा सदस्य रैदासले महिला तथा किशोरीलाई लक्षित गरी वितरण गरिएको फ्रिडम किट ब्यागले आफ्नो वडाका महिलालाई ठूलो राहत पुग्ने बताइन् । उनले प्राप्त किट ब्यागको सही सदुपयोग गर्न सहभागीलाई आग्रह समेत गरिन् ।
कार्यक्रमको उद्देश्यबारे बास नेपालका केन्द्रीय अध्यक्ष बर्माले प्रकाश पारेका थिए । कार्यक्रममा सहभागीलाई स्वागत समेत बास नेपालका केन्द्रीय अध्यक्ष बर्माले गरेका थिए भने बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।