कारागारबारे सञ्चारमाध्यममा फैलिएका समाचारमा सत्यता छैन : बाँके कारागार प्रशासन

सोमबार, साउन २५, २०८३

नेपालगन्ज । बाँके कारागार कार्यालय नेपालगन्जले पछिल्लो केही दिनयता विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कारागारसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कारागार कार्यालयले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा कपोलकल्पित, अतिरञ्जित र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। कार्यालयका अनुसार उक्त विषयमा कारागार प्रशासन, आन्तरिक प्रशासन तथा कारागार सुरक्षाको संयुक्त टोलीले छानबिन गरेको थियो। छानबिनका क्रममा त्यस्ता सामग्रीमा उल्लेख गरिएका विषयमा कुनै सत्यता नपाइएको कार्यालयले जनाएको छ।

कारागार कार्यालयले भ्रामक सामग्रीको पछि नलाग्न तथा कपोलकल्पित समाचार प्रकाशन र प्रसारण नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। साथै कारागारसँग सम्बन्धित विषयमा कुनै जानकारी आवश्यक परेमा आधिकारिक निकायबाट सत्यतथ्य बुझेर मात्र समाचार तथा सामग्री प्रकाशन–प्रसारण गर्न आग्रह गरिएको छ।

कारागार प्रशासनले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट तथा भ्रामक सामग्रीले कारागारको वास्तविक अवस्थाबारे गलत धारणा सिर्जना गर्न सक्ने भन्दै जिम्मेवार सञ्चारका लागि सबै पक्षलाई आग्रह गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १५:००
प्रतिक्रिया दिनुहोस्