मृग बचाउन खोज्दा पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीपछि ट्याङ्कर जलेर नष्ट

बिहीबार, साउन २१, २०८३

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरीका अनुसार साउन २१ गते अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको वन्यजन्तु (मृग) जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो। दुर्घटनालगत्तै ट्याङ्करमा भीषण आगलागी भएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ उद्धार तथा आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस निजगढ, बारा तथा सुरक्षा बेस सन्तपुर, रौतहटबाट सुरक्षा टोली परिचालन गरिएको थियो। नेपाल प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको भए पनि पेट्रोल बोकेको ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ०९:५४
प्रतिक्रिया दिनुहोस्