सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व उपकप्तान ममता थापालाई नाइस अवार्ड २०२६ बाट पुरस्कृत गरिएको छ ।
नेपालगञ्जमा आज नाइस नेपालगञ्जको चौथो अधिवेशनका क्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो । नाइस नेपालगञ्जले प्रत्येक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले थापालाई उक्त अवार्ड प्रदान गरेकी हुन् । थापाले लामो समयसम्म राष्ट्रिय टोलीबाट विकेटकिपर तथा ब्याटरका रूपमा खेलेकी थिइन् ।
थापा हाल कोहलपुर नगरपालिकामा क्रिकेट प्रशिक्षकका रुपमा कार्यरत छिन् । विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वलाई उक्त अवार्ड प्रदान गर्ने गरिएको नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टले जानकारी दिए । उक्त अवसरमा नेपालगञ्जका संगीत साधक ८२ वर्षीय ओमप्रकाश शर्मालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठ, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय, नेपालगञ्ज ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, गैरसरकारी संस्था महासंघ नेपालका सचिव एवम् नाइस नेपालगञ्जका संस्थापक अध्यक्ष नमस्कार शाह, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नाइस अवार्ड विजेता थापा, समाजसेवी बुद्धिसागर सुवेदी, अग्रज पत्रकार झलक गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका सचिव कमल शाहीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शोभा थापा मगरले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् ।