जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी घोषणा

शनिबार, साउन १६, २०८३

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी अध्यक्ष पदका लागि मेरिल्याण्ड निवासी गौतम दाहालले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारीसँगै उनले संगठनलाई थप सुदृढ, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी बनाउने प्रतिबद्धतासहित आफ्नो भावी कार्ययोजना सार्वजनिक गरेका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो केन्द्रीय अधिवेशन आगामी अगस्ट १४, १५ र १६ तारिख अमेरिकाको भर्जिनिया राज्यमा हुँदैछ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले गर्ने कार्यक्रम रहेको छ। यसैबीच, अध्यक्ष पदका उम्मेदवार दाहालको उम्मेदवारीलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायत शीर्ष नेताहरूको समर्थन रहेको कांग्रेस निकट स्रोतले जनाएको छ। 

उक्त अधिवेशनका लागि गठित केन्द्रीय अधिवेशन तयारी समितिका सदस्य–सचिवसमेत रहेका दाहालले संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने, नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध विस्तार गर्ने, दोस्रो पुस्ताका नेपालीलाई संगठनका गतिविधिमा सक्रिय बनाउने तथा प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेका छन्।

उनले आर्थिक अनुशासन र पारदर्शितालाई आफ्नो नेतृत्वको पहिलो प्राथमिकता हुने बताएका छन्। 'आर्थिक अनुशासन र पारदर्शितालाई म पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु,' दाहालले भने।

संस्थाप्रतिको विश्वासको आधार आर्थिक पारदर्शिता नै भएको उल्लेख गर्दै उनले यस विषयमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 'मेरो कार्यकालमा कुनै प्रश्न उठ्न नदिने गरी काम गर्नेछु। मेरा हात सफा छन् र सधैं सफा नै राखेर काम गर्नेछु,' उनले भने।

दाहालले अमेरिकाभर रहेका विभिन्न च्याप्टरहरूको सहकार्यमा प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्ने, विभिन्न क्षेत्रमा ख्याति कमाएका अनुभवी नेपालीहरूको सहभागितामा ‘थिंक ट्यांक’ (बौद्धिक समूह) गठन गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारका विषयमा संस्थागत धारणा सार्वजनिक गर्ने योजना अघि सारेका छन्। उनको एजेन्डामा संस्थागत सुशासन, विधानसम्मत कार्यप्रणाली, पारदर्शी आर्थिक व्यवस्थापन, चुस्त संगठन निर्माण, अमेरिकाका विभिन्न तहका सरकारमा रहेका नेपाली मूलका निर्वाचित प्रतिनिधिसँग सहकार्य गर्दै नेपालको हितका पक्षमा वकालत गर्ने तथा अमेरिकी संघीय संसदमा विगतमा सक्रिय रहेको ‘नेपाल ककस’लाई पुनः सक्रिय बनाउन पहल गर्ने प्रतिबद्धतासमेत समेटिएको छ।

त्यसैगरी, नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको अर्धकदको शालिक अमेरिकाको कुनै सार्वजनिक स्थलमा स्थापना गर्न पहल गर्ने, नेपाली समुदायको प्रभाव रहेका विभिन्न राज्यका सडक तथा सार्वजनिक स्थानलाई नेपालको नामसँग जोड्ने प्रयास गर्ने तथा समितिका सबै च्याप्टरलाई वार्षिक कार्ययोजना र क्यालेन्डरका आधारमा सञ्चालन गर्ने व्यवस्था मिलाउने योजना पनि उनले सार्वजनिक गरेका छन्।

दाहालको उम्मेदवारी र सार्वजनिक एजेन्डाप्रति जनसम्पर्क समितिका मतदाता, शुभेच्छुक तथा विभिन्न राज्यका प्रतिनिधिहरूले समर्थन जनाउँदै ऐक्यबद्धता व्यक्त गरेका छन्।

को हुन् गौतम दाहाल? 

ओखलढुंगाको शहीदभूमिमा जन्मिएका गौतम दाहाल विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिमा होमिएका व्यक्ति हुन्। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ ओखलढुंगाका जिल्ला सदस्य, नेपाल विद्यार्थी संघ ओखलढुंगा–काठमाडौं सम्पर्क समितिका सभापति हुँदै तत्कालीन अर्थ राज्यमन्त्री गोपाल राईका प्रेस सल्लाहकारसम्म पुगेको थियो।

राजनीतिसँगै पत्रकारितामा पनि सक्रिय दाहाल विगत २१ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्। सन् २००७ देखि नेपाली जनसम्पर्क समिति अमेरिकाका विभिन्न तहका जिम्मेवारीमा निरन्तर सक्रिय रहेका उनी हाल नेपाली कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन्। समितिका निवर्तमान प्रचार विभाग प्रमुख तथा प्रवक्ताका रूपमा जिम्मेवारी सम्हालिसकेका दाहालले नेपाली कांग्रेसको प्रचार विभाग तथा एनआरएनए आईसीसीको भाषा तथा साहित्य संवर्द्धन समितिमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

नेपालमा रहँदा उनले रेडियो नेपाल, इमेज टेलिभिजन, नेपाल–१ टेलिभिजन, हिमालय टाइम्स, राष्ट्रपुकार, नेपालवाणी, नेपाल जागरणलगायतका सञ्चारमाध्यममा पत्रकारका रूपमा काम गरेका थिए। उनी ग्लोब नेपाल डटकमका संस्थापक सम्पादक तथा ग्लोब नेपाल मिडिया हाउसका अध्यक्ष हुन्।

अमेरिकामा उनले नेपाल अमेरिका पत्रकार संघका निर्वाचित अध्यक्ष तथा बाल्टिमोरस्थित नेपालीहरूको संस्था ‘बाना’का निर्वाचित महासचिवका रूपमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। स्पष्ट विचार, सक्रिय संगठन क्षमता, पत्रकारिता र राजनीतिक अनुभवको समन्वय तथा संगठनप्रतिको निरन्तर समर्पणका कारण दाहाललाई अमेरिकास्थित नेपाली कांग्रेसजनमाझ जनसम्पर्क समितिको अनुभवी, सक्षम र भरोसायोग्य नेतृत्वका रूपमा हेरिने गरिन्छ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १४:२९
प्रतिक्रिया दिनुहोस्