नेपालगञ्जमा निकालियो वृहत् सद्भाव र्‍याली

शनिबार, साउन १६, २०८३

नेपालगञ्ज । सुनसरी र सिराहामा भएका पछिल्ला घटनापछि देशभर शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगञ्जमा शनिबार विहान वृहत् सद्भाव र्‍याली निकालिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आयोजित र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शनिबार बिहान वीपी चोकबाट वीरेन्द्र चोकसम्म र्‍याली आयोजना गरिएको थियो । सहभागीहरूले समाजमा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्ष जिम्मेवार र संयमित बन्नुपर्नेमा जोड दिएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुनसरी र सिराहामा भएका घटनापछि समाजमा सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले र्‍याली आयोजना गरिएको जानकारी दिए । उनले कुनै पनि घटना वा अफवाहका आधारमा सामाजिक सद्भाव खलबलिने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै सत्यतथ्य सूचना मात्र विश्वास गर्न अनुरोध गरे ।

उनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बाँके जिल्लामा आपसी सद्भाव र सहिष्णुताको वातावरणलाई थप सुदृढ बनाउन सबै पक्षको सकारात्मक भूमिका अपेक्षित रहेको बताए  ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  ०९:४८
प्रतिक्रिया दिनुहोस्