सुनसरी घटनालाई लिएर कांग्रेस सभापतिको सुझाव: 'प्रधानमन्त्रीले अहङ्कार त्यागेर सबैलाई समेट्न सक्नुपर्छ'

बुधबार, साउन १३, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमको सन्दर्भमा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सरकार केवल बल प्रयोग र सामाजिक सञ्जालको ‘स्ट्याटस’मा मात्र सीमित हुन नहुने बताएका हुन्। उनले प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई अहङ्कार त्यागेर सबै पक्षलाई समेट्न र यस्तो संवेदनशील परिस्थितिमा 'ठालु' भएर नबस्न सुझाव दिए। सरकारलाई अभिभावक र नेतृत्वकर्ताको संज्ञा दिँदै थापाले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने, राष्ट्रपतिसँग परामर्श गर्ने तथा प्रदेश र स्थानीय सरकारहरूसँग निरन्तर संवाद गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए।

सभापति थापाले भने, ‘माननीय सभापतिमार्फत सरकारसँग हाम्रो प्रश्न छ । यतिखेर सरकार कहाँ छ र के गर्दैछ ? सरकार केवल सुरक्षा बल वा सामाजिक सञ्जालमा सिमित नभई सबैलाई जोड्ने नेतृत्वकर्ता बन्नुपर्छ । प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाई राष्ट्रपतिसँग, प्रदेश तथा स्थानीय सरकारसँग संवाद गरी साझा पहलको वातावरण बनाउनुपर्छ । भूकम्प र कोभिडजस्ता राष्ट्रिय संकटमा सबै दल एकजुट भएका उदाहरण छन् । अहिले पनि सरकारलाई अप्ठ्यारो पार्ने होइन, सहकार्य गरेर समस्या समाधान गर्न चाहन्छौँ । घटनाको छानबिन आवश्यक छ, तर त्यसबारे उचित समयमा छलफल गरौँला । हाम्रो पार्टी सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबै राजनीतिक दलसँग मिलेर काम गर्न प्रतिवद्ध छ । मैले अहिले माथि भनेँ यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने होरु यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु हुने, ठालु भएर बस्ने हो ? यो बेलामा रिचआउट गर्नु पर्दैन ? यो बेलामा सबै सबैलाई जोड्ने प्रयास गर्नु पर्दैन ? र सबैको भएर सबैलाई समेटेर लिएर जाने प्रयास गर्नु पर्दैन ? गर्नुपर्छ भन्ने हामी ठान्छौँ र प्रधानमन्त्रीले गर्नुहोस् भन्ने हाम्रो चाहना हाम्रो हाम्रो माग पनि छ ।’

मधेसमा हुने कुनै पनि घटनामा राज्यले ‘अतिरिक्त बल’ प्रयोग गर्ने मानसिकता राख्नु दुःखद् रहेको टिप्पणी गर्दै उनले यो समय सरकारलाई अप्ठ्यारो पार्ने नभई जिम्मेवारीपूर्वक सहयोग गर्ने र सबै राजनीतिक दलहरूसँग मिलेर सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्ने बेला भएको स्पष्ट पारे ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १२:०१
प्रतिक्रिया दिनुहोस्