सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारको प्रारम्भिक कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारको सुरुवाती संकेत आशाजनक नरहेको बताएका छन् ।
शुक्रबार नेपालगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले जनताको ठूलो अपेक्षाका बीच गठन भएको सरकारले आशा जगाउने काम गर्नुपर्ने भए पनि हालसम्मका गतिविधिले त्यस्तो संकेत नदेखिएको टिप्पणी गरे । उनले राप्रपाले भने जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरे ।
अध्यक्ष लिङ्देनका अनुसार बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा स्वास्थ्य बीमा, रासायनिक मलको अभाव, स्वास्थ्य, शिक्षा र विजुलीमा लगाइएको कर, सुकुम्बासी समस्या, संविधान संशोधनलगायतका विषयमा सरकारको धारणा माग्नुका साथै राप्रपाका तर्फबाट सुझाव पनि प्रस्तुत गरिएको थियो । प्रधानमन्त्रीले ती विषय समाधानका लागि सरकार गम्भीर रहेको जवाफ दिएको उनले बताए।
पार्टीका महामन्त्री डा. धवल शमशेर राणाले पार्टी छोडेर अघि बढाएको राजसंस्था पुनःस्थापनाको अभियानबारे सोधिएको प्रश्नमा लिङ्देनले राप्रपाको धारणा फरक रहेको स्पष्ट पारे । उनले आन्दोलन वा विद्रोहबाट होइन, राष्ट्रिय सहमतिको आधारमा मात्र राजसंस्था पुनःस्थापना हुनुपर्ने पार्टीको अडान रहेको बताए ।
'उहाँहरू आन्दोलन र विद्रोहबाट राजसंस्था ल्याउन चाहनुहुन्छ, तर हामी राष्ट्रिय सहमतिमार्फत राजसंस्था पुनःस्थापना हुनुपर्छ भन्नेमा छौं, उनले भने-'राजा अभिभावकीय भूमिकामा रहनुपर्छ भन्ने हाम्रो धारणा हो।'
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेता प्रेमबहादुर भण्डारी, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।