Dashain Banner
Dashain Banner

पाँच दशकपछि पूरा हुँदै स्थानीयको सपना, पिप्रहवा घाटमा झोलुङ्गे पुल निर्माण सुरु हुँदै

शुक्रबार, साउन १, २०८३

नेपालगञ्ज । बाँकेको राप्ती नदीस्थित पिप्रहवा घाटमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्ष २०८३-८४ देखि अघि बढ्ने भएको छ।  तीन स्थानीय तहलाई जोड्ने उद्देश्यले निर्माण हुन लागेको पुलका लागि प्रारम्भिक सर्वेक्षण सम्पन्न भइसकेको छ भने आगामी वर्षको बजेटमा आवश्यक रकमसमेत व्यवस्था गरिएको छ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, ललितपुरका अनुसार आगामी आर्थिक वर्षमा विस्तृत (अन्तिम) सर्वेक्षण सम्पन्न गरी निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरिनेछ। अहिले पुलको डिजाइन, लागत अनुमान र निर्माण मोडालिटी तयार पार्ने काम भइरहेको कार्यालयले जानकारी दिएको छ।

करिब १५ करोड रुपैयाँको लागतमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुल ५५० मिटर लामो र दुई मिटर चौडा हुनेछ। बजेट सुनिश्चित भइसकेकाले वर्षौंदेखि स्थानीयले उठाउँदै आएको पुल निर्माणको माग अब कार्यान्वयनको चरणमा पुगेको छ। यसअघि प्राविधिक टोलीले निर्माणस्थलको भौगोलिक अवस्था, नदीको बहाव, दुवै किनारको बनोट तथा निर्माणको सम्भाव्यता अध्ययन गर्दै प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो।

निर्माणपछि राप्तीसोनारी गाउँपालिका–७ का फरेदा, पिप्रहवा, देउपुरुवा लगायतका बस्ती, डुडुवा गाउँपालिका–१ का बालुपुरुवा, चौफेरी तथा नरैनापुर क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।

राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारुले पुल बनेपछि राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका नागरिकले वर्षौंदेखि डुङ्गामार्फत गर्नुपर्ने जोखिमपूर्ण यात्रा अन्त्य हुने बताए। स्थानीय ७० वर्षीय दुर्गाप्रसाद पाण्डेले करिब पाँच दशकदेखि उठ्दै आएको पुल निर्माणको माग अब पूरा हुने चरणमा पुगेकाले निकै उत्साहित भएको प्रतिक्रिया दिए।

पिप्रहवा घाटमा दशकदेखि डुङ्गा सञ्चालन गर्दै आएका माझी गुड्डु मल्लाहले बर्खायाममा डुङ्गा चलाउँदा ठूलो जोखिम मोल्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पुल निर्माणको खबरले स्थानीयमा नयाँ आशा जगाएको बताए।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति पोषण केसीले पनि लामो समयदेखि पुल निर्माणका लागि पहल गर्दै आएको उल्लेख गर्दै अब योजना कार्यान्वयनतर्फ अघि बढ्नु सकारात्मक भएको प्रतिक्रिया दिए।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  ०९:५६
प्रतिक्रिया दिनुहोस्