अस्पतालबाटै माजिद अन्सारीले भने - मेरो जीवनको रक्षा गरियोस्

सोमबार, असार २९, २०८३

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैरकानुनी ढंगले पक्राउ गरी कुटपिट गरेको  आरोप लगाउँदै आफ्नो जीवन रक्षा  गरिदिन आग्रह गरेका छन्।

शनिबार कीर्तिपुरबाट पक्राउ परेका अन्सारी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्। पक्राउका क्रममा उनी घाइते भएको बताइएको छ।
अस्पतालबाट सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा अन्सारीले शनिबार साँझ करिब ५ बजेतिर १०–१२ जना प्रहरीको समूहले आफूलाई लछारपछार गर्दै कुटपिट गरेको र त्यसबाट गम्भीर घाइते भएको दाबी गरेका छन्।

उनले हालसम्म आफ्नो पक्राउको कारणबारे कुनै जानकारी नदिइएको, पक्राउ पुर्जीसमेत नदेखाइएको तथा पक्राउको कानुनी हैसियतबारे कुनै स्पष्टता नभएको उल्लेख गरेका छन्।

अन्सारीले गृहमन्त्री र प्रहरी नेतृत्वलाई आफूविरुद्ध गरिएको कारबाहीको कारण सार्वजनिक गर्न आग्रह गर्दै यसलाई लक्षित र गैरकानुनी कारबाही भएको आरोप लगाएका छन्।


साथै उनले संघीय संसदका सदस्यहरू, प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था र मानव अधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन अपिल गरेका छन्।

यद्यपि अन्सारीले लगाएका आरोपबारे नेपाल प्रहरी वा गृह मन्त्रालयको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १२:४४
प्रतिक्रिया दिनुहोस्