सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्जमा जेड्सी (GEDSI) प्रोफाइल प्रमाणीकरण कार्यशाला सम्पन्न भएको छ । मानवीय कार्य तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) लाई संस्थागत गर्दै प्रमाणमा आधारित योजना निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार गर्न थालिएको GEDSI प्रोफाइललाई अन्तिम रुप दिन प्रमाणीकरण कार्यशाला गरिएको हो ।
ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल) को आयोजनामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER II) तथा लैङ्गिक उत्तरदायी विपद् पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा संस्थाकी परियोजना संयोजक विकला वाग्लेले GEDSI प्रोफाइल सम्बन्धी प्रस्तुति दिँदै प्रमाणमा आधारित तथ्याङ्क र विश्लेषणले स्थानीय तहलाई आत्मविश्वासका साथ योजना निर्माण तथा कार्यान्वयन गर्न सहयोग पुग्ने बताइन् । उनले स्थानीय सरकारमा समावेशी शासन, समान पहुँचयुक्त सेवा प्रवाह तथा प्रमाणमा आधारित विकास योजना निर्माणलाई सुदृढ बनाउनु नै कार्यशालाको प्रमुख उद्देश्य रहेको स्पष्ट पारिन् । प्रोफाइलमा द्वितीय तथ्यांकको प्रयोग गरिएको वाग्लेले जानकारी दिइन् ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम, विपद समिति संयोजक समीर प्रताप सिंह, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय सरोकारवाला तथा ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल) का कार्यकारी निर्देशक लुभराज न्यौपाने लगायतको सहभागिता रहेको थियो । समापन कार्यक्रममा विपद समिति संयोजक सिंह, रोयमका कार्यकारी निर्देशक न्यौपानेले बोलेका थिए ।
संस्थाकी विपद् जोखिम न्यूनीकरण सहयोगी (DRR Associate) पूजा वैश्य का अनुसार कार्यशालामा सहभागीहरूले GEDSI प्रोफाइलमाथि छलफल गर्दै सुझावहरु प्रस्तुत गरेका थिए । प्राप्त सुझावलाई समेटेर GEDSI प्रोफाइललाई अन्तिम रुप दिई स्थानीय तहको योजना निर्माण तथा विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरूमा उपयोग गरिने जनाइएको छ ।