सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेतृत्व केवल पदमा सीमित हुँदैन, जनताको विश्वास जित्ने कामले त्यसको वास्तविक मूल्य निर्धारण गर्छ। नेपालगञ्ज उपमहानगरपालिका–४ का पूर्व वडाध्यक्ष तथा नेकपा (एमाले) बाँकेका युवा नेता मोहम्मद सफिक बेहनाले आफ्नो कार्यशैलीबाट यही सन्देश दिएका छन्। जनसेवा, विकास निर्माण र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उनले आफूलाई नागरिकका बीचमा स्थापित गरेका छन्।
युवा व्यवसायीसमेत रहेका बेहनाले वडाध्यक्षको जिम्मेवारी सम्हाल्दा शिक्षा, स्वास्थ्य, सडक, नाला, सरसफाइ, फोहोर व्यवस्थापन तथा पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाए। वडाको समग्र विकासका लागि उनले सञ्चालन गरेका योजना र कार्यक्रमले स्थानीयको जीवनस्तर सुधारमा योगदान पुर्याएको स्पष्ट देख्न सकिन्छ।
कोभिड–१९ महामारीका बेला उनको सक्रियता अझ बढी चर्चामा रह्यो। महामारी फैलिएको कठिन समयमा वडा स्तरमै एमबीबीएस चिकित्सकसहितको आइसोलेसन केन्द्र सञ्चालन गरी संक्रमितको उपचार तथा व्यवस्थापनमा उनले अग्रणी भूमिका निर्वाह गरे। समयमै उपचारको पहुँच विस्तार गर्ने उनको पहलले धेरै नागरिकको जीवन बचाएको थियो।
कोरोना महामारीका बेला सहयोग गर्दाको क्षण
भेरी अस्पतालमा अक्सिजन अभाव भएको संवेदनशील समयमा उनले अक्सिजन खरिदका लागि दुई लाख रुपैयाँ नगद सहयोग प्रदान गरे। त्यससँगै अस्पताल, स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा संक्रमित परिवारलाई अक्सिजन, मास्क, स्यानिटाइजर र अन्य स्वास्थ्य सामग्री उपलब्ध गराउँदै मानवीय सेवामा निरन्तर जुटिरहे। महामारीका कारण रोजगारी गुमाएका, गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुका साथै खाना पकाउने ग्यास खरिदका लागि नगद सहयोगसमेत उपलब्ध गराए। संकटको समयमा प्रचारभन्दा सेवालाई प्राथमिकतामा राखेको उनको कार्यशैलीका कारण धेरैले उनलाई “कोरोना कालका योद्धा” का रूपमा स्मरण गर्ने गरेका छन्।
सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षा निकायका कर्मचारीसम्म स्वास्थ्य सामग्री र खानेपानी पुर्याउन उनी स्वयं पुगेका घटना स्थानीयले अझै सम्झिन्छन्। आफ्नै सुरक्षाभन्दा नागरिकको सुरक्षालाई महत्व दिएको उनको सक्रियताको व्यापक प्रशंसा भएको थियो।
कोरोना महामारीका बेला सुरक्षाकर्मीलाई सहयोग गरेको क्षण
वडाध्यक्षका रूपमा उनले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, कन्या विद्यालय सञ्चालन, सडक तथा नाला निर्माण, सरसफाइ सुधार र विभिन्न विकास योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए। स्थानीयका अनुसार उनको कार्यकालमा वडा नम्बर–४ नेपालगञ्जकै नमुना वडामध्ये एकका रूपमा परिचित बनेको थियो।
जनप्रतिनिधि हुँदा उनले कुनै सेवा–सुविधा नलिएको विषय पनि चर्चामा रह्यो। जनप्रतिनिधिको पदलाई व्यक्तिगत लाभभन्दा सेवाको माध्यमका रूपमा उपयोग गर्नुपर्छ भन्ने मान्यतालाई उनले व्यवहारमै उतारेको उनका शुभेच्छुकहरू बताउँछन्।
युवालाई पत्रकारीता तालिम
हाल स्थानीय तह निर्वाचनको चर्चा बढ्दै जाँदा पनि उनको नाम विभिन्न राजनीतिक र सामाजिक वृत्तमा चर्चाको विषय बनेको छ। पार्टीले अवसर दिए नेपालगञ्जको समग्र विकासका लागि थप जिम्मेवारी सम्हाल्न तयार रहेको उनले सार्वजनिक रूपमा बताउँदै आएका छन्।
सामाजिक सेवा, विकास निर्माण, संकटका बेला देखाएको नेतृत्व क्षमता र जनतासँगको निकट सम्बन्धका कारण मोहम्मद सफिक बेहना आज नेपालगञ्जका परिचित युवा नेतृत्वमध्ये एकका रूपमा स्थापित भएका छन्।