सरकारले गर्‍यो नेपाल प्रहरीका ८ एआईजीको सरुवा

बिहीबार, असार १८, २०८३

काठमाडौं । नेपाल प्रहरीका आठ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको  छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा विभिन्न विभाग र कार्यालयका एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको हो।

सरुवामा कार्य विभागका एआईजी उमा चतुर्वेदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पठाइएको छ भने सीआईबीमा कार्यरत एआईजी डा. मनोज केसी अपराध अनुसन्धान विभागमा सरुवा भएका छन्।

यस्तै, एआईजी सुशील सिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको नेतृत्वको जिम्मेवारी दिइएको छ। त्यहाँ कार्यरत एआईजी ईश्वर कार्कीलाई मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ।

मानव स्रोत विकास विभागका एआईजी राजन अधिकारीलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) पठाइएको छ भने प्रतिष्ठानका एआईजी सिद्धिविक्रम शाह कार्य विभागमा सरुवा भएका छन्।

त्यसैगरी, प्रदेश समन्वय विभागका एआईजी डम्बर विकलाई प्रशासन विभागको जिम्मेवारी दिइएको छ। प्रशासन विभागका एआईजी हिमालयकुमार श्रेष्ठ भने प्रदेश समन्वय विभागमा सरुवा भएका छन्।

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १८:१०
प्रतिक्रिया दिनुहोस्