यस्तो छ रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका

आइतबार, असार ७, २०८३
Honor 600 pro

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अगाडि बढाउन केन्द्रीय निर्वाचन आयोगले आइतबार संशोधित निर्वाचन कार्यतालिका पुनः प्रकाशित गरेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज साँझ  ५ बजे महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। असार ८ गते बिहान ५ बजेसम्म प्रतिनिधिमाथि दाबी-विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ भने सोही दिन बिहान १० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।

त्यसपछि असार ८ गते दिउँसो १ देखि उम्मेद्वारी मनोनयनका लागि फाराम वितरण शुरू हुनेछ। दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेद्वारी मनोनयनपत्र दर्ता गरिने आयोगले जनाएको छ।

उम्मेद्वारहरूको प्रारम्भिक नामावली साँझ ६ बजे प्रकाशन गरिनेछ भने साँझ ६ बजेदेखि ७ बजेसम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ।

दाबी-विरोधमाथिको जाँचबुझ बेलुका ७ देखि ८ बजेसम्म गरिनेछ। उम्मेद्वारी फिर्ता लिन बेलुका ९:१५ बजेसम्मको समय तोकिएको छ। अन्तिम उम्मेद्वार नामावली राति ११ बजे प्रकाशन गरिनेछ।

असार ९ गते बिहान ७ देखि ८:३० बजेसम्म मौन अवधि रहनेछ। त्यसपछि बिहान ८:३० देखि दिउँसो ३ बजेसम्म पार्टी सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचनका लागि मतदान हुनेछ। मतदान सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा गरिने कार्यतालिकामा उल्लेख छ।

पहिलो चरणको नतिजापछि दोस्रो चरणको उम्मेद्वारी तथा थप निर्वाचन कार्यतालिका अलग्गै प्रकाशन गरिने आयोगले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १४:३१
प्रतिक्रिया दिनुहोस्