नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ

मंगलबार, जेठ २६, २०८३
Honor 600 pro

काठमाडौं।  प्रधानमन्त्री बालेन्द्र  शाह (बालेन) ले आज मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्रीलाई जिम्मेवारी प्रदान गरेका छन्। आज आयोजित शपथग्रहण समारोहमा रामचन्द्र पौडेल समक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।

नवनियुक्त गृहमन्त्री गुरुङ यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारीमा रहेका थिए। उनको सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारले गठन गरेको छानबिन समितिले उनलाई सफाइ दिएपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।

त्यस्तै, महावीर पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। फागुन २१ को निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका थिए।

गुरुङ गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का निर्वाचित सांसद हुन् भने पुन म्याग्दी बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १७:३४
प्रतिक्रिया दिनुहोस्