सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सुधन गुरुङ गृहमन्त्रीमा पुनः कमब्याक भएको छ। गृहमन्त्रीमा सुधन नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा हुने तय भएको छ।
यसअघि व्यापारी दीपक भट्टसँगको कथित व्यापारिक सम्बन्ध र सेयर खरिदसम्बन्धी विषय सार्वजनिक भएपछि गुरुङ विवादमा परेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका भट्टसँग जोडिएको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद प्रक्रियाबारे प्रश्न उठेपछि उनी आलोचनाको केन्द्रमा परेका थिए।
आर्थिक स्रोतबारे उठेका प्रश्नका बीच गुरुङले आफूले करिब ५० लाख रुपैयाँ सापटी लिएर सेयर खरिद गरेको दाबी गरेका थिए। तर निरन्तर दबाबपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए, जहाँ उनले जम्मा २६ दिन मात्र जिम्मेवारी सम्हालेका थिए।
विवादपछि विषयको अध्ययन गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो, पछि थप पाँच दिन म्याद पनि थपिएको थियो।
छानबिन समितिले विस्तृत अध्ययनपछि गुरुङमाथि लागेको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ। समितिका अनुसार उनको सम्पत्ति विवरणमा देखिएका केही अस्पष्टता व्यक्तिगत दोष नभई राज्यको प्रणालीगत कमजोरीसँग सम्बन्धित देखिएको प्रतिवेदनमा उल्लेख छ।
४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङका सबै चल तथा अचल सम्पत्तिलाई वैध ठहर गरेको छ। सोही प्रतिवेदनपछि उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको बताइएको छ।