सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ। दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बिहान करिब ४ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१२ प ९८४० नम्बरको मोटरसाइकल सडकको बाँया किनारमा पार्किङ गरी राखिएको ना५ ख ९३३६ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका–७ हस्नापुर निवासी ३८ वर्षीय जीवन गिरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पठाइएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको दाङ प्रहरीले जनाएको छ।