सत्तापक्ष–प्रतिपक्ष सहमति विहीन, प्रतिनिधिसभा बैठक आज बस्दै

मंगलबार, जेठ २६, २०८३
Honor 600 pro

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र साह ९बालेन० को नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर उत्पन्न राजनीतिक विवादका कारण केही दिनयता अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ।

सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसकेपछि सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठक स्थगित गर्दै मंगलबारका लागि बैठक आह्वान गरेका हुन्। संसद् सचिवालयका अनुसार आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट ९राजस्व र व्ययको वार्षिक अनुमान० माथि सामान्य छलफल प्रारम्भ गर्ने मुख्य कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्रीले दिने तयारी गरेका छन्।

यसका अतिरिक्त सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको मनोनयनबारे जानकारी गराउने तथा “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२” राष्ट्रिय सभाबाट तोकिएको अवधिभित्र फिर्ता नभएको जानकारी सदनलाई गराउने कार्यसूची तय गरिएको छ।

यद्यपि कार्यसूची सार्वजनिक गरिए पनि बैठक सहज रूपमा सञ्चालन हुनेमा अन्योल कायम छ। प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले प्रधानमन्त्री साहले संसद्को रोस्ट्रमबाट दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भन्दै विरोध जारी राखेका छन्। उनीहरूले उक्त अभिव्यक्ति संसद्को आधिकारिक अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग दोहोर्‍याएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्रीबाट प्रत्यक्ष जवाफ नआएसम्म संसद् चल्न नदिने अडान कायम राखेका छन्। संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक बोलाएर सहमतिको प्रयास गरेका थिए। तर सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेपछि बैठक निष्कर्षविहीन बनेको थियो।

सत्तापक्षले प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीमार्फत स्पष्टिकरण दिन सकिने प्रस्ताव अघि सारे पनि प्रतिपक्षले त्यसलाई अस्वीकार गरेको छ। सहमतिका लागि संवाद जारी रहे पनि हालसम्म कुनै ठोस निष्कर्ष ननिस्किएकाले संसद्को गतिरोध आज पनि कायम रहने सम्भावना देखिएको छ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  ०८:३९
प्रतिक्रिया दिनुहोस्