हङकङलाई डीएलएसमा पराजित गर्दै नेपाल बम्यो च्याम्पियन

सोमबार, जेठ २५, २०८३
Honor 600 pro

काठमाडौं । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धति अनुसार पराजित गर्दै उपाधि जितेको छ।

सोमबार भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित बनाएको थियो। लगातार वर्षाका कारण खेल पुनः सञ्चालन हुन नसकेपछि डीएलएस पद्धति अनुसार नेपाल विजयी घोषित भएको हो। उक्त समयमा नेपालको स्कोर डीएलएस पार स्कोर ९५ भन्दा १९ रनले अगाडि रहेको थियो।

नेपालको जितमा कुशल भुर्तेलले ४० बलमा ६५ रनको उत्कृष्ट इनिङ्स खेले। रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित रहे। हङकङका एहसान खान र आयुष शुक्लाले समान एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। हङकङका लागि अंशुमन राथले ४५ बलमा ८० रन तथा शाहिद वासिफले २८ बलमा ५५ रनको योगदान दिए। शिव माथुरले २६ रन जोडे।

नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल रहे। उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।

नेपाल र हङकङ दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए। वर्षाका कारण खेल प्रभावित नभएको भए नेपालले १८९ रनको लक्ष्य पूरा गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा ठूलो रन चेजको कीर्तिमान बनाउन सक्ने सम्भावना रहेको थियो।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १६:२९
प्रतिक्रिया दिनुहोस्