सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । लुम्बिनी प्रदेश सरकारमा हालै नियुक्त भएका पाँच जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनपछि एमालेबाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री सरकारमा सहभागी भएका छन्।
पुनर्गठित मन्त्रिपरिषद्अनुसार एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी रामजीप्रसाद घिमिरेले स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन्।
यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
मुख्यमन्त्री आचार्यले केही दिनअघि नै नयाँ मन्त्रीहरूको नियुक्तिका लागि सिफारिस गरेका थिए। तर प्रदेश प्रमुख प्रदेश बाहिर रहेकाले शपथ ग्रहण कार्यक्रम तत्काल हुन नसकेको र आज औपचारिक रूपमा सम्पन्न गरिएको जनाइएको छ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै लुम्बिनी प्रदेश सरकारले विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।