Dashain Banner
Dashain Banner

एसियन गेम्स क्रिकेट छनौट: नेपाल फाइनलमा, ओमान ८ विकेटले पराजित

आइतबार, जेठ २४, २०८३

काठमाडौँ। सन् २०२६ एसियन  गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा ओमानले दिएको ९५ रनको लक्ष्यलाई नेपालले ९.२ ओभरको क्षतिमा २ विकेट गुमाएर जित निकालेको हो।

नेपालका लागि लोकेश बम नटआउट रहेर सर्वाधिक ४४ रन, कुशल भुर्तेलले २०, रोहित पौडेल नटआउट रहेर  २१ तथा आशिफ शेखले १ रन बनए।

ओमानका लागि कप्तान सुफियान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ रन जोडे। अन्य ब्याट्सम्यानले नेपाली बलिङ आक्रमणसामु टिक्न सकेनन्।

नेपालका लागि करण केसीले चार ओभरमा २० रन खर्चेर सर्वाधिक तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट हात पारे। नेपाली बलरहरूले सुरुदेखि नै दबाब कायम राख्दा ओमानले नियमित अन्तरालमा विकेट गुमाएको थियो।

नेपाल समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको हो। पहिलो खेलमा चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई १६७ रनले हराउँदै समूह विजेताका रूपमा अन्तिम चारमा स्थान बनाएको थियो।

नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ । हङकङ र मलेसियाबीच आज दिउँसो सवा १२ बजेदेखि खेल हुनेछ ।

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्