लुम्बिनी प्रदेश सरकार पुनर्गठन: एमालेका ४ र जसपाका १ मन्त्री नियुक्त

बुधबार, जेठ २०, २०८३
Honor 600 pro

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन्।

पुनर्गठनअनुसार एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै, रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री, रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री तथा डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन्।

त्यसैगरी जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए।
मुख्यमन्त्री आचार्यले नयाँ मन्त्रीहरूको मन्त्रालयगत जिम्मेवारीसमेत तोकेका छन्। नव नियुक्त मन्त्रीहरूको शपथग्रहण सोमबार हुने तय गरिएको छ।

प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूको राजीनामापछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  २२:१४
प्रतिक्रिया दिनुहोस्