धवलशमशेर राणाको पलटवार: ‘असफलता लुकाउन दुष्प्रचार गरियो’

बुधबार, जेठ २०, २०८३
Honor 600 pro

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० छाडेर नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका नेता धवलशमशेर जबरा ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन को पछिल्लो विज्ञप्तिलाई भ्रमपूर्ण भन्दै आलोचना गरेका छन्।

बुधबार जारी गरेको वक्तव्यमा जबराले राप्रपाको वर्तमान नेतृत्वबाट पार्टीका मूल विचार, मूल्य र मान्यतालाई प्रभावकारी रूपमा अघि बढाउने सम्भावना कमजोर बन्दै गएको दाबी गरेका छन्। उनले राष्ट्रवादी विचारधारामा विश्वास गर्ने सबै शक्ति, समूह र व्यक्तिलाई नयाँ राजनीतिक विकल्प निर्माणको अभियानमा एकजुट हुन आग्रह गरेका छन्।

जबराले अध्यक्ष लिङ्देनले नेता–कार्यकर्तालाई पार्टी नछाड्न गरेको आह्वानलाई ‘शब्दजाल’ को संज्ञा दिँदै त्यसबाट प्रभावित नहुन अपिल गरेका छन्। उनले निस्वार्थ भावनाका साथ लोकतान्त्रिक र लक्ष्यउन्मुख राजनीतिक मार्ग निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

वक्तव्यमा उनले राप्रपाको केन्द्रीय समितिको कार्यकालसमेत समाप्त भइसकेको जिकिर गरेका छन्। केन्द्रीय समितिको अवधि थप गरिएको समयसमेत सकिएको भन्दै पार्टीले वैधानिक आधार गुमाइसकेको उनको दाबी छ।

जबराले पार्टीभित्र पटक–पटक उठाइएका सुझाव र छलफललाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाएका छन्। आफूलाई महाधिवेशनको कार्यतालिका तयार पार्ने जिम्मेवारी दिइएको तर त्यसबाट पन्छिएको भन्ने अध्यक्षको आरोप तथ्यहीन र दुष्प्रचारपूर्ण भएको उनको भनाइ छ।

उनले नेतृत्वको कार्यशैली र निर्णय प्रक्रियाकै कारण पार्टी चुनावी रूपमा मात्र होइन, वैचारिक तथा सैद्धान्तिक रूपमा समेत कमजोर बन्दै गएको दाबी गरेका छन्। यस्तै प्रवृत्ति कायम रहे पार्टी जनताबाट थप टाढिने अवस्था सिर्जना हुने चेतावनीसमेत जबराले दिएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १८:२९
प्रतिक्रिया दिनुहोस्