लुम्बिनी सरकारमा एमालेबाट बाँकेका रत्न खत्रीसहित ४ जना मन्त्री बन्ने सम्भावना

बुधबार, जेठ २०, २०८३
Honor 600 pro

दाङ । लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्ना चार मन्त्रीको राजीनामापछि नेकपा एमालेले नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको छ। पार्टी स्रोतका अनुसार गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रुपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीलाई मन्त्रीका लागि अघि सारिएको हो।

सिफारिसमा परेका मध्ये रत्न खत्री यसअघि प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। बाँकी तीन जना भने पहिलो पटक मन्त्री बन्ने तयारीमा रहेका छन्। एमालेले यसपटक प्रदेशसभामा पुनः निर्वाचित भए पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकता दिएको बताइएको छ।

कांग्रेससँगको सत्ता साझेदारी र सरकार पुनर्गठनबारे लामो समयदेखि छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेर गर्ने तयारी भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित समग्र मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। त्यसअनुसार भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारुमगर र सीता शर्मा चौधरीले पदबाट राजीनामा बुझाएका छन्। यता प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ मा सीमित गर्ने निर्णय गरिसकेको छ। मन्त्रालय संख्या कटौती गर्ने व्यवस्था सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ।

मुख्यमन्त्री आचार्यले भने मन्त्री नियुक्तिको विषयमा छलफल जारी रहेको र अन्तिम निर्णय हुन अझै बाँकी रहेको बताएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १३:०५
प्रतिक्रिया दिनुहोस्