सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ फिर्ता लिन र जनतासँग क्षमा माग्न माग गरेको छ ।
नेपाली कांग्रेस बाँकेले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान तथा नेपाली जनताको राष्ट्रिय भावनामाथि आघात पुर्याएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल कहिल्यै पराधीन नभएको र छिमेकी राष्ट्रसँग सहअस्तित्वको नीति अपनाउँदै आएको उल्लेख गर्दै नेपालले कुनै पनि छिमेकी राष्ट्रको भूमि मिचेको इतिहास नरहेको दाबी गरिएको छ । प्रधानमन्त्रीको भनाइले ऐतिहासिक तथ्यको अवमूल्यन गरेको तथा सीमा सम्बन्धी संवेदनशील विषयलाई अनावश्यक रूपमा प्रस्तुत गरेको कांग्रेस बाँकेको आरोप छ ।
कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले देश र जनताको हित भन्दा बाह्य प्रभावमा लिप्त रहेको संकेत देखिएको टिप्पणी गरिएको छ । साथै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतासँग क्षमा नमागे नेपाली कांग्रेस देशव्यापी सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिइएको छ ।