सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशमशेर राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यसहित नयाँ राजनीतिक यात्रा तय गर्ने संकेत दिएका छन्।
आइतबार सार्वजनिक गरेको अपिलमार्फत राणाले शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय–सल्लाहअनुसार आगामी बाटो तय गर्ने निर्णय गरेको बताएका छन्। उनले समयको पदचाप र जनभावनाअनुसार देश तथा विदेशमा रहेका नेपालीहरूबाट सुझाव र शुभेच्छा प्राप्त भइरहेको उल्लेख गरेका छन्।
राणाले देशलाई माया गर्ने, समृद्ध नेपाल चाहने आम राष्ट्रवादी नागरिक तथा युवा पुस्तालाई नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गरेका छन्।
उनले विगत चार वर्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनभावनाअनुकूल अघि बढाउने प्रयास गरिएको दाबी गर्दै विरोधाभास र सैद्धान्तिक द्विविधाका कारण पार्टी गलत दिशातर्फ गएको टिप्पणी गरेका छन्। त्यही कारण राप्रपा जनताबाट दण्डित भएको उनको भनाइ छ।
राणाले राप्रपामा आबद्ध साथीहरूलाई आफ्नो बाटोमा रहन शुभकामना दिँदै कुनै वैरभाव नरहेको स्पष्ट पारेका छन्। साथै स्वच्छ मन, आत्मीय सम्बन्ध र साझा मान्यतालाई सही लक्ष्यतर्फ लैजान चाहने राष्ट्रवादी शक्तिहरूलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।
राणाको यो सन्देशलाई राप्रपाभित्रको असन्तुष्टि र नयाँ राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ।