सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । संघीय सरकारले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाका लागि साढे २ अर्ब बढी रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट प्रस्तुत गर्दै सिक्टा सिँचाइ आयोजनाको लागि २ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
यो रकमबाट पूर्वी र पश्चिमी नहरको काम गरेर ५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ । आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर मनोजकुमार साहका अनुसार गत आर्थिक वर्षको बजेटमा भन्दा यस वर्ष करिब एक अर्ब बढाएर बजेट विनियोजन भएको छ ।
सिक्टा सिंचाई आयोजना अन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माण भइरहेको छ भने सिधनिया, प्रसेनीपुर र अकलघरुवा शाखा नहरमा ठेक्का सम्झौता गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । गुरुवागाउँ र अकलघरुवाका उपशाखा तथा पूर्वी मूल नहरका बाँकी कामका लागि पूर्व तयारीका कामहरू भइरहेका सूचना अधिकारी साहले बताए । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण भइरहेको हो । आर्थिक वर्ष २०६२-६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९-९० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
आयोजनाको निर्माणाधिन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको सूचना अधिकारी साहले जानकारी दिए । संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत ५२ अर्ब ८९ करोड रहेको छ ।