कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिलालाई उम्मेदवार बनाउने लक्ष्यमा कांग्रेस

शनिबार, जेठ १६, २०८३
Honor 600 pro

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तीमा एक सय वटा स्थानीय तहको प्रमुखमा महिलालाई उम्मेदवार बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् । शनिबार आयोजित नेपाल थारु सङ्घको अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउन विशेष तयारी थालेको जानकारी दिए। देशका कुल ७५३ स्थानीय तहमध्ये कम्तीमा एक सय पालिकामा नेपाली कांग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्षको उम्मेदवार उठाउने लक्ष्यका साथ काम गर्नुपर्नेमा उनले जोड दिए।

यो लक्ष्य हासिल गर्नका लागि अहिलेदेखि नै महिला नेतृत्व विकास, प्रशिक्षण र उम्मेदवार तयारीमा लाग्नुपर्ने सभापति थापाको भनाइ छ। उम्मेदवार छनोट र तयारीलाई व्यवस्थित बनाउन पार्टीले निर्वाचन ब्युरो गठन गरिसकेको र त्यसको नेतृत्व पुष्पा भुसालले गरेको उनले जानकारी दिए।

नेतृत्व विकासका लागि कांग्रेसले ‘लीडरशिप एकेडेमी’ नामक छुट्टै संरचना स्थापना गरेको र त्यसका लागि छिट्टै खुला आह्वान गरिने उनले बताए। आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने नयाँ वा पुनः दोहोरिन इच्छुक जुनसुकै व्यक्तिले पनि अनिवार्य रूपमा लीडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा गर्नुपर्ने व्यवस्था गरिएको उनले स्पष्ट पारे। सो कोर्स पूरा गरेपछि मात्र उम्मेदवारका रूपमा योग्य मानिने भएकाले महिला उम्मेदवारको सङ्ख्या बढाउन अहिलेदेखि नै बढीभन्दा बढी महिलालाई यस कार्यक्रममा सहभागी गराउन आवश्यक रहेको उनले औँल्याए।

कार्यक्रममा बोल्दै सभापति थापाले भने, “अर्को साल निर्वाचन छ, स्थानिय चुनाव आउँछ, प्रदेशको चुनाव आउँछ, यो पटक कम्तिमा पनि ७५३ मध्ये हामीले एक सय पालिकामा नेपाली कांग्रेसको पार्टीको तर्फबाट मेयर अथवा अध्यक्षको उम्मेद्वार महिला बनाउनेगरी काम गर्नुपर्नेछ, अहिलेदेखी काम गरौँ, अहिलेदेखी कोशिस गरौँ । यसको लागि हामी सबै लाग्नुपर्छ । ७५३ पालिकामा निर्वाचन लड्न चाहने, इच्छा राख्नुभएको कोही पनि हुनुहुन्छ, म उम्मेदवार बन्न चाहन्छु भनेर कोही अहिले दोहोरिन चाहनुभएको छ वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रुपमा लीडरशिप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्स पूरा गर्नैपर्छ । त्यो कोर्स पूरा गरिसकेपछि मात्रै त्यसका निम्ति योग्य बनिन्छ । त्यसैले त्यहाँ महिला बनाउने हो भने हामीले अहिलेदेखि नै बढी भन्दा बढी महिला साथीहरुलाई त्यहाँभित्र कोर्समा हामीले भर्ना गराउनुपर्छ।”

उनले नेपाल थारु सङ्घलाई पनि सम्भावित उम्मेदवारको खोजी, प्रोत्साहन तथा प्रशिक्षण लगायतका काममा सक्रिय हुन आग्रह गरे। योग्य व्यक्तिहरूलाई निर्वाचन ब्युरो र लिडरशिप एकेडेमीसँग जोडेर नेतृत्व विकासमा सहयोग गर्न सम्पूर्ण भ्रातृसंस्थाहरू लाग्नुपर्ने उनको भनाइ छ।

सभापति थापाले अधिवेशन हुन नसकेका भ्रातृसंस्थाहरूको नेतृत्व छिट्टै चयन गरिने जानकारी समेत दिए। नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० लगायत नेतृत्व खाली रहेका भ्रातृसंस्थाहरूको नेतृत्व एक(दुई दिनभित्रै चयन गरिने उनले बताए। आगामी निर्वाचनमा विभिन्न समुदायको व्यापक र सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्दै नेपाली कांग्रेस उम्मेदवार लिएर जनतामा जाने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  १८:२२
प्रतिक्रिया दिनुहोस्