ढिलासुस्ती, अनियमितता र बेथिति नै अहिले देशको मुख्य चुनौती: राष्ट्रपति पौडेल

शुक्रबार, जेठ १५, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक उपलब्धिलाई नागरिकको जीवनस्तरसँग जोड्नका लागि शासकीय स्वरूप र राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक रहेको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै आज उनले उक्त धारणा व्यक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता गर्नुका साथै साझा राष्ट्र निर्माणको सङ्कल्पका लागि अभिप्रेरित गरेको उल्लेख गरे। गणतन्त्रले नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिको स्वामित्व प्रदान गरेको बताउँदै उनले यसलाई राष्ट्र निर्माणको महान् प्रेरणाका रूपमा लिनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले केवल राजनीतिक परिवर्तनले मात्र नागरिकको अपेक्षा पूरा नहुने तर्क गरे। मुलुकको समृद्धिका लागि सुशासन अनिवार्य सर्त रहेको उल्लेख गर्दै उनले ढिलासुस्ती, अनियमितता र बेथिति अहिलेको मुख्य चुनौती रहेको औँल्याए। प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक समृद्धि सुनिश्चित गर्नु आजको मुख्य कार्यभार रहेको उनको भनाइ छ।

विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ। यसले हामीलाई समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ। यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ। किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा हो।’

राजनीतिक दल र नेतृत्वलाई अझ बढी सिर्जनशील, विनयशील र जनउत्तरदायी बन्न आह्वान गर्दै उनले शासकीय चरित्र र शैली बदल्नुपर्नेमा जोड दिए।

उनले थपे, ‘राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन। हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। हामीले राजनीतिक पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धी, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न भन्ने म ठान्दछु। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सिर्जनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान् र आचरणशील हुनैपर्छ।’

जगजाहेर रहेको उल्लेख गर्दै उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरू कोही नभएर ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताए। लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनै बेथितिको निराशाबाट जोगाउनुपर्ने उनको चिन्ता थियो।

प्रत्येक नागरिकको जीवनमा आशाको सञ्चार नभएसम्म रगत र पसिना बगाएर प्राप्त गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूर्ण नहुने राष्ट्रपति पौडेलको निष्कर्ष छ। उनले शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील बनाउँदै सुशासनको प्रत्याभूति दिन सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षणसमेत गराएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १२:४२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह