न्यायपालिकामाथि दबाब सिर्जना गर्ने गतिविधिप्रति बारको गम्भीर आपत्ति

बिहीबार, जेठ १४, २०८३

नेपालगञ्ज । नेपालगञ्ज उच्च अदालत बार एशोसिएशन र बाँके जिल्ला अदालत बार एशोसिएशनले न्यायपालिकामाथि बाह्य दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बार एशोसिएशनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको निष्पक्षता र स्वतन्त्रतामाथि असर पर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको हो ।

विज्ञप्तिमा संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण तथा स्वतन्त्र न्यायपालिकाको संरक्षणप्रति बार एशोसिएशन सधैं प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । बार एशोसिएशनका अनुसार बुधबार रेशम कुमार थापा समेत भएको मुद्दाको सुनुवाइका क्रममा अदालत परिसर बाहिर केही व्यक्ति तथा समूहले प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए। अदालतको मुख्य गेटमा अवरोध तथा तोडफोडको प्रयास समेत भएको भन्दै यस्ता गतिविधिले न्याय सम्पादन प्रक्रियामा प्रत्यक्ष दबाब सिर्जना गर्ने उद्देश्य देखिएको जनाएको छ ।
विज्ञप्तिमा अदालत परिसर तथा अदालत अगाडि प्रदर्शन, नाराबाजी र दबाबमूलक गतिविधिले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता तथा न्यायिक प्रक्रियामाथि प्रतिकूल प्रभाव पार्ने उल्लेख गरिएको छ ।

अदालतको काम कारबाहीलाई प्रभावित पार्ने उद्देश्यले गरिने कुनै पनि गतिविधि लोकतान्त्रिक विधि शासनको मर्म विपरीत हुने बार एशोसिएशनको भनाइ छ ।

बार एशोसिएशनले अदालतको शान्ति सुरक्षा भंग गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने तथा न्यायिक वातावरण खल्बल्याउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

साथै अदालत परिसर वरपरको क्षेत्रलाई निषेधित तथा ध्वनि निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न समेत सम्बन्धित निकायसँग आग्रह गरिएको छ । 
नेपालगञ्ज उच्च अदालत बार एशोसिएशनका सचिव कुसुमा सुवेदी र बाँके जिल्ला अदालत बार एशोसिएशनका सचिव शक्ति सिंह हमालले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह