राप्तीसोनारीले भन्यो- कार्यालयभित्र दुर्व्यवहार र धम्कीपूर्ण गतिविधि गर्नेविरुद्ध कारबाही अगाडि बढाउछौ

बिहीबार, जेठ १४, २०८३

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले कार्यालय परिसरभित्र कर्मचारी तथा जनप्रतिनिधिमाथि अभद्र व्यवहार र धम्कीपूर्ण गतिविधि भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै बुधबार दिउँसो  ३ बजे कार्यालयको नियमित कार्यसम्पादन तथा सेवा प्रवाह भइरहेका बेला केही व्यक्तिहरू कार्यालय परिसरभित्र प्रवेश गरी कर्मचारी तथा  जनप्रतिनिधिहरूमाथि दुर्व्यवहार गरेको उल्लेख गरिएको छ। गाउँपालिकाका अनुसार उक्त घटनाले नियमित सेवा प्रवाहमा अवरोध सिर्जना गर्नुका साथै कर्मचारीहरूको मनोबल कमजोर बनाउने काम गरेको छ।

विज्ञप्तिमा जनप्रतिनिधि तथा कर्मचारीहरू कानुन, विधि र प्रक्रिया अनुसार नागरिकलाई सेवा दिन प्रतिबद्ध रहेको अवस्थामा यस्ता अमर्यादित गतिविधि कुनै पनि हिसाबले स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ।

गाउँपालिकाले असहमति, गुनासो वा सुझाव भए प्रचलित कानुनी तथा प्रशासनिक प्रक्रियामार्फत समाधान खोज्न आग्रह गरेको छ। व्यक्तिगत आक्रोश, दबाब, धम्की तथा अमर्यादित व्यवहार प्रदर्शन गर्नु कानुन र सामाजिक मर्यादाविपरीत हुने गाउँपालिकाको भनाइ छ।

घटनामा संलग्न व्यक्तिहरूलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै गाउँपालिकाले घटनाबारे आवश्यक अध्ययन, तथ्य संकलन तथा प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। गाउँपालिकाका प्रवक्ता मिनराज खड्काद्वारा जारी विज्ञप्तिमा कर्मचारी तथा जनप्रतिनिधिको सम्मान, सुरक्षा र मर्यादा कायम राख्दै निर्बाध रूपमा सार्वजनिक सेवा प्रवाह गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  ०८:१३
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह