सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दै आफ्नो ३५औँ स्थापना दिवस मनाइरहेको छ। दिवसका अवसरमा युनियनका शाखाहरूले आ–आफ्नो क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा बिहान माइतीघर मण्डलामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो। त्यसपछि बिहान ९ बजेदेखि विधान महाधिवेशन सुरु हुने कार्यक्रम तय गरिएको युनियनका अध्यक्ष शिव लम्साल ले जानकारी दिएका छन्। महाधिवेशनको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव बाट हुने बताइएको छ।
युनियनका उपाध्यक्ष जीवन भण्डारी का अनुसार देशभरका शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्षसहित प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुन काठमाडौँ आएका छन्।
वि.सं. २०४८ जेठ १३ गते श्रमजीवी पत्रकारहरूको अधिकार र हित संरक्षणका उद्देश्यसहित स्थापना भएको नेपाल प्रेस युनियनले पत्रकारहरूको पेशागत सुरक्षा, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको छ। युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघबाट नेपालमा पहिलोपटक सदस्यता प्राप्त गर्ने पत्रकार संगठनसमेत हो।
युनियनको प्रारम्भिक नेतृत्व तत्कालीन पत्रकार तथा पूर्वमन्त्री जेपी गुप्ताले गरेका थिए। संस्थापक सदस्यहरूमा हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, शिरीषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, तारानाथ दाहाललगायत पत्रकारहरू रहेका थिए।
हालसम्म युनियनको नेतृत्व हरि अधिकारी, रमेश तुफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजंग शाह, किरण पोखरेल र बद्री सिग्देलले सम्हालिसकेका छन्। अहिले संगठनको नेतृत्व शिव लम्सालले गरिरहेका छन्।
महासचिव दिलीप पौडेल ले युनियनले श्रमजीवी पत्रकारको अधिकार, प्रेस स्वतन्त्रता र मिडियामैत्री नीतिका लागि निरन्तर भूमिका खेल्दै आएको बताएका छन्।