सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । देशभर मादक पदार्थ सेवन गरेर सवारी चलाउने क्रम बढ्दै जाँदा दुर्घटनाको संख्या पनि चिन्ताजनक रूपमा बढेको छ । नेपाल प्रहरीका अनुसार गत वैशाख महिनामा मात्रै मापसे गरेर सवारी चलाउँदा १२४ वटा दुर्घटना भएका छन् । ती घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३७ दुर्घटना भएका छन् । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ३५ दुर्घटना हुँदा दुई जनाको मृत्यु र ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० दुर्घटनामा २७ जना घाइते भएका छन् भने बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको मृत्यु र १९ जना घाइते भएका छन् ।
यस्तै, गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका तीन दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने कार्यले दुर्घटनाको जोखिम अत्यधिक बढाउने भन्दै चालकहरूलाई ट्राफिक नियम कडाइका साथ पालना गर्न आग्रह गरेको छ । विशेषगरी रातिको समय, सार्वजनिक बिदा तथा चाडपर्वका अवसरमा मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढी देखिने गरेको प्रहरीको भनाइ छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार पछिल्लो समय मापसे नियन्त्रण अभियानलाई देशभर थप प्रभावकारी बनाइएको छ । शहरी क्षेत्र, राजमार्ग तथा भीडभाड हुने स्थानमा रातिको समयमा ट्राफिक चेकजाँचलाई कडा पारिएको उनले बताए ।
उनले मापसे गरेर सवारी चलाउनु कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि गम्भीर जोखिम भएको उल्लेख गर्दै सुरक्षित यात्राका लागि जिम्मेवार बन्न सबै चालकलाई आग्रह गरेका छन् । प्रहरीले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै सवारी चलाउँदा पूर्ण सतर्कता अपनाउन अनुरोध गरेको छ ।