वैशाख १ देखि जेठ ९ सम्मको विपद् घटनामा ७० जनाको मृत्यु

आइतबार, जेठ १०, २०८३

काठमाडौँ ।  विसं २०८३ को वैशाखयता शनिबार (हिजोसम्म) भएका १ हजार ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जना नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०८३ को पछिल्लो ४० दिनमा उक्त घटना भएको र ३३३ जना नागरिक घाइते भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । यसैगरी, हुरीबाट ९, जनावरको आक्रमणबाट ८, सर्पदंशबाट पाँच, पहिरोबाट दुई, डुङ्गा पल्टिएर दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर एकरएक जनाको मृत्यु भएको छ ।

ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विपद्जन्य घटना सङ्ख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन् । यसैगरी, हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा परेका तीन जनाको मृत्यु भएको पनि उनले बताए । ३२ वटा घटनामा १३ जना घाइते भएका र १७ लाखभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ ।

देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला कतै बाढी पहिरो र कतै तातो हावाको लहर जारी छ । आज पूर्वी नेपालका विभिन्न जिल्लामा भीषण बाढी आउँदा धेरै क्षेत्र प्रभावित भएको छ । रासस। 

 

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ०८:४५
प्रतिक्रिया दिनुहोस्