सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेटमा अमेरिकामाथि शानदार जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले लगातार तेस्रो जित हासिल गर्ने क्रममा अमेरिकालाई १२२ रनले हरायो ।
यो श्रृंखलामा नेपालले चारमध्ये तीन खेल जितेको हो । पहिलो खेल स्कटल्याण्डसँग २ रनले हारेको थियो भने त्यसपछि लगातार जित निकालेको हो ।
श्रृंखलाको अन्तिम खेलमा शुक्रबार नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३१७ रन बनायो। टीयू मैदानमा नेपालले अहिलेसम्मकै आफ्नो उच्च योगफल बनाएको हो । कीर्तिपुर मैदानमा अमेरिका र स्कटल्याण्डबीच भने ३२१ रन बनेको थियो।
नेपालका लागि इशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह ऐरीले शानदार अर्धशतक बनाए । लगातार दुई अर्धशतक बनाउने क्रममा पाण्डेले ८३ बलमा ८४ रन बनाए । तेस्रो विकेटका लागि पाण्डेसँग मिलेर ११० रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले ४६ रन जोडे ।
दिपेन्द्रले करियरको नवौँ अर्धशतक बनाउने क्रममा दिपेन्द्रले २९ बलमै अर्धशतक बनाए । दिपेन्द्रले ३६ बलमा रनआउट हुनुअघि चार छक्का र चार चौकाको मद्धतले ५९ रन बनाए ।
आसिफ शेखले ४३, कुशल भुर्तेलले २९ रन बनाए भने आरिफ शेखले १० बलमा अविजित रहँदै १८ रन जोडे । जवाफमा अमेरिकाले ४१ ओभर २ बलमा अलआउट हुँदै १९५ रनमात्र जोड्न सक्यो । सञ्जय कृष्णमुर्थीले सर्वाधिक ५६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ३ तथा ललित राजवंशी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए ।
यो श्रृंखलामा नेपालले अमेरिकालाई दुवै खेलमा हराएको हो । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो । त्यस्तै नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा भने वर्षाले प्रभावित खेलमा नेपाल मात्र दुई रनले स्कटल्याण्डसँग पराजित भएको थियो ।