'प्रतिनिधि सभा बैठक'

बिहीबार, जेठ ७, २०८३

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बोलाइएको होआजको बैठकका लागि संसद् सचिवालयले विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि विचार गर्ने र पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दुई वटा महत्त्वपूर्ण निर्वाचनसम्बन्धी विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नेछन्।यसका साथै, मन्त्री गौतमले नै ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समेत बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा अर्थतन्त्र र विकास निर्माणका दृष्टिले महत्त्वपूर्ण मानिएको आर्थिक विधेयकमाथि पनि छलफल हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उक्त विधेयकमाथि सांसदहरूबाट प्राप्त भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  ०९:०९
प्रतिक्रिया दिनुहोस्