निर्माण व्यवसायी संघ बाँकेले सुरु गर्‍यो नेपालगन्ज उपमहानगरपालिका अगाडि धर्ना

शुक्रबार, जेठ १, २०८३

बाँके  । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक तथा अप्रत्याशित मूल्यवृद्धिले निर्माण क्षेत्र नै ठप्प हुने अवस्था आएको भन्दै निर्माण व्यवसायीहरूले  आजदेखि देशभर विरोध कार्यक्रम सुरु गरेका छन् ।

जिल्लास्थित निर्माण व्यवसायी संघले पनि निर्माण व्यवसायी महासंघले जारी गरेको आन्दोलनलाई एक्यवद्धता जनाउँदै आजदेखि बाँके लगायत सबै जिल्लामा धर्ना सुरु गरेका हुन् ।

आज दिउँसो बाँके निर्माण व्यवसायी संघले पनि नेपालगन्ज उपमहानगरपालिका अगाडि धर्ना सुरु गरेका छन् । बाँके निर्माण व्यवसायी संघका अध्यक्ष लिलाराज उपाध्यायको नेतृत्वमा उपमहानगरपालिकाको गेटमा धर्ना सुरु गरेका छन् ।

पछिल्लो समय निरन्तर बढिरहेको लागतका कारण निर्माण कार्य सञ्चालन गर्न असम्भवजस्तै भएको उल्लेख गर्दै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराउदै गर्दा आजदेखि सुरुवाती अवस्थामा धर्ना सुरु गरिएको निर्माण व्यवसायी संघ बाँकेका सदस्य बिकास सापकोटाले बताए।

आजै निर्माण व्यवसायी संघ बाँके नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत ज्ञापनपत्र बुझाएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १३:३९
प्रतिक्रिया दिनुहोस्