प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्छ, बिरामी भए जानकारी दिइयोस्: कांग्रेस नेता आङ्देम्बे

बुधबार, वैशाख ३०, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र साहको उपस्थिति अनिवार्य हुनुपर्ने अडान दोहोर्‍याएका छन्। बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।

नेता आङ्देम्बेले प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गर्न पाउने कुरामा विपक्षीको विमति नरहेको प्रष्ट पारे। तर, प्रस्ताव प्रस्तुत भएर छलफल प्रारम्भ भएपछि भने प्रधानमन्त्री स्वयं सदनमा हुनुपर्ने उनको तर्क छ। 'हिजो पनि विपक्ष दलको नेताको हैसियतमा बोल्दा मैले यो महत्वपूर्ण छलफलमा प्रधानमन्त्रीको उपस्थिति माग्छ भनेको थिएँ,' उनले भने।

प्रधानमन्त्री बिरामी परेको भन्ने चर्चा आएकाले यसबारे सदनलाई आधिकारिक जानकारी दिन उनले सभामुखसँग आग्रह गरे। 'यदि उहाँ साँच्चै बिरामी हुनुभएको हो भने सभामुखजीले त्यसको जानकारी दिँदा राम्रो हुन्थ्यो,'उनले भने, 'उहाँका सल्लाहकारहरूबाट बिरामी भएको खबर आइरहेको छ। संसद् र विपक्षी दलहरूले उहाँको स्वास्थ्यको चिन्ता गरेपछि यसबारे जानकारी दिनु सभामुखको दायित्व हो।'

नेता आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रम जस्तो राज्यको सबैभन्दा महत्त्वपूर्ण दस्तावेजमाथिको छलफलमा कार्यकारी प्रमुख अनुपस्थित हुनु संसदीय परम्परा विपरीत हुने बताए। उनले छलफल अघि बढ्नका लागि प्रधानमन्त्रीको भौतिक उपस्थिति हुनैपर्नेमा जोड दिए।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १५:२८
प्रतिक्रिया दिनुहोस्