राष्ट्रिय सभामा कांग्रेसको प्रश्नः प्रधानमन्त्रीले अपनत्व नै नलिएको नीति तथा कार्यक्रममाथि छलफल किन गर्ने ?

बुधबार, वैशाख ३०, २०८३

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति स्वयं प्रधानमन्त्रीले अपनत्व नलिएको गम्भीर आरोप लगाएको छ। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा काँग्रेसका सचेतक पदम परियारले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सदन छाडेर बाहिरिएको घटनालाई लिएर यस्तो टिप्पणी गरेका हुन्।

सचेतक परियारले राष्ट्रपतिको सम्बोधन भइरहेका बेला प्रधानमन्त्री र सांसदहरूले देखाएको व्यवहारलाई 'असंसदीय, अधैर्य, अशिष्ट र अमर्यादित' भन्दै कडा आलोचना गरे। उनले नेपालको संसदीय इतिहासमा पहिलो पटक यस्तो प्रकारको गैरजिम्मेवार व्यवहार देखिएको उल्लेख गर्दै यसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि ठूलो प्रहार गरेको बताए।

'राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री नै सदन छाडेर निस्किएपछि उक्त कार्यक्रमको अपनत्व कसले लिने?' भन्दै परियारले प्रश्न उठाए। प्रधानमन्त्रीले नै स्वामित्व नलिएको दस्तावेजमाथि सदनमा छलफल गर्नुको औचित्य नहुने तर्क गर्दै उनले यसबारे प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे।

सांसदहरू मनोमानी ढङ्गले उठेर हिँड्ने प्रवृत्तिले संसदीय अभ्यास र संस्कारलाई कमजोर बनाएको उल्लेख गर्दै सचेतक परियारले राष्ट्रिय सभाका अध्यक्षमार्फत सरकारलाई रुलिङ गर्न माग गरे। उनले यस्तो अलोकतान्त्रिक व्यवहार सहन नसकिने बताउँदै सदनलाई स्पष्ट जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।

विपक्षी दलहरूले यस घटनालाई असंवैधानिक हर्कतको संज्ञा दिँदै सरकारको नियतमाथि समेत प्रश्न उठाएका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १४:४४
प्रतिक्रिया दिनुहोस्