नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मंगलबार, वैशाख २९, २०८३

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक कुमारी पुष्पा सिंहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र चौधरीले नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे ।

पालिकाभित्रका १५ वर्ष मुनिका ३ हजार ४ सय ३८ जना र १६ देखि २३ महिनाभित्रका २ हजार ७ सय ३५ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोप प्राप्त गरेपछि नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार छुटेका शुन्य डोजका १२ जना बालबालिका र खोप लगाउन छुटेका २ सय ७६ जना बालबालिकालाई समेत खोजी गरी घरघरमै पुगेर खोप सेवा प्रदान गरिएको थियो । समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी रहेको भन्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरु सबैको पहल आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख चौधरीले बताए । उनले समुदायमा खोपसम्बन्धि सेवाबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन पालिका प्रतिबद्ध रहनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देवनारायण उपाध्याय लगायतको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक जागेश्वर वस्नेतले गरेका थिए । त्यसक्रममा जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय, महिला स्वास्थ्य स्वयसेविका संघ लगायतलाई मायाको चिनो प्रदान गरिएको महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज ओलीले बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  २०:०२
प्रतिक्रिया दिनुहोस्