सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ स्थित दुर्गाफाट कुरुलेफाँट नजिक सोमबार भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सन्धिखर्क–घुम्ती–तानसेन सडकखण्डमा सुपा देउराली दर्शन गरेर पर्वत फर्किँदै गरेको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो। बस सडकबाट करिब १०० मिटर तल खसेको बताइएको छ।
दुर्घटनामा पोखरा महानगरपालिका–१९ निवासी ७८ वर्षीया राममाया बस्नेत र ७८ वर्षीया बिन्दु कुँवरको मृत्यु भएको छ। त्यसैगरी पर्वतको मोदी गाउँपालिका–५ की ५० वर्षीया कौशिला रेग्मी तथा बस चालक ४५ वर्षीय रमेश जिसीको पनि ज्यान गएको प्रहरीले जनाएको छ। दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन्।
घाइतेहरूको उपचार लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा तथा भैरहवा मेडिकल कलेजमा भइरहेको छ। अर्घाखाँची अस्पतालमा प्रारम्भिक उपचारपछि केही घाइतेलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार बसमा सवार अधिकांश यात्रु पर्वतको मोदी गाउँपालिकाका थिए। प्रारम्भिक अनुसन्धानमा बसको ब्रेक फेल भएर दुर्घटना भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।