प्रधानमन्त्री संसदबाट बाहिरिएपछि कांग्रेसको आपत्ति, तत्काल जवाफ माग

मंगलबार, वैशाख २९, २०८३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र साह संसद बैठकबाट बाहिरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमै कांग्रेसले यस विषयमा प्रधानमन्त्रीसँग तत्काल स्पष्ट जवाफ माग गरेको हो।

बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको उक्त कार्यलाई संवैधानिक संस्कार र संसदीय परम्परा विपरीतको गैरजिम्मेवार व्यवहार भएको बताएकी छन्। राष्ट्रपति जस्तो गरिमामय पदको मर्यादा ख्याल नगरी बैठक कक्षबाट बाहिरिनु लोकतान्त्रिक संसदीय इतिहासमै विरलै घट्ने लज्जास्पद घटना भएको उनले चित्रण गरिन्।

'हिजो हामीले जुन दृश्य देख्यौँ, त्यो केवल सामान्य दृश्य मात्र होइन,' थापाले भनिन्, 'राष्ट्रपतिज्यूबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनुले सरकारको गैरजिम्मेवारीपन र संवैधानिक पदप्रतिको अनादर झल्काउँछ।'

प्रमुख सचेतक थापाले प्रधानमन्त्री साहलाई संवैधानिक पदहरूको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन सचेत गराएकी छन्। उनले भविष्यमा यस्ता घटना नदोहोर्‍याउन ध्यानाकर्षण गराउँदै भनिन्, 'लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुन्छ। यस विषयमा सम्माननीय सभामुखमार्फत म प्रधानमन्त्रीको तत्काल जवाफ माग गर्दछु।'

कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमले संसदीय मर्यादामा गम्भीर आँच पुर्‍याएको दाबी गर्दै संसदमा औपचारिक स्पष्टीकरण नआएसम्म यो विषयलाई उठाइरहने सङ्केत गरेको छ। बैठकमा थापाले पद र शक्तिको घमण्डभन्दा माथि उठेर लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्न समेत सरकारलाई सुझाव दिइन्।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १४:०१
प्रतिक्रिया दिनुहोस्