सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा एवं सहारा हुनुपर्ने बताए। कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्त्वमाथि जोड दिए।
राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्यशक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा प्रधान न्यायालय ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यावहारिक रूपमै अगाडि बढाएको उल्लेख गरे। वर्तमान नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य–मान्यतालाई सुनिश्चित गरेको उनले बताए।
सम्बोधनका क्रममा उनले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने स्पष्ट पारे। न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्न र नागरिकलाई छिटो(छरितो न्याय प्रदान गर्न आवश्यक सुधारको खाँचो रहेको उनले औँल्याए। उनले संविधानको मर्मअनुसार नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक परिमार्जन गर्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले भने, ‘कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्दछ। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तल(माथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ भन्ने हामीले बिर्सनु हुँदैन। सुशासन, अमनचयन, शान्ति र समृद्धिका लागि विधि र थिति औजार तथा उपचार दुवै हुन्।’
आधुनिक पद्धति र प्रविधिको प्रयोगमार्फत आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्ने भन्दै उनले मुद्दाको शीघ्र व्यवस्थापन र न्यायिक मूल्य–मान्यताको संरक्षणका लागि सम्बन्धित सबैमा सकारात्मक सोच र प्रेरणा जाग्नुपर्ने बताए। उनले यो कानून दिवसले विधिको शासन कायम गर्न र न्यायपालिकाको जनआस्था बढाउन सबैलाई हौसला प्रदान गर्ने शुभेच्छा समेत व्यक्त गरे।