नेपालद्वारा ओमान ८१ रनले पराजित, आशिफको ९४ रन

मंगलबार, वैशाख २२, २०८३

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको घरेलु मैदानको पहिलो त्रिकोणात्मक श्रृङ्खलामा नेपालले तीन जित हासिल गरेको छ । चौथो तथा अन्तिम खेलमा ओमानमाथि ८१ रनको जित हासिल गर्दै नेपालले चारमध्ये तीन खेल जितेर ६ अंक जोड्न सफल भएको हो । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले जितका लागि ओमानलाई २५७ रनको चुनौती दिएकामा ओमानले ३९ ओभर ५ बलमा अलआउट हुँदै १७५ रन बनाउन सक्यो। 

विनायक शुक्लाले ३६ तथा हमद मिर्जाले ३४ रन बनाए। नेपालका लागि गुल्सन झाले ३८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै करण केसी, नन्दन यादव, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट लिए । 

यसअघि खेलमा खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १ बल खेल्न बाँकी छँदै अलआउट भएर २५६ रन बनायो । 

आशिफ शेख ९४ रन बनाएर आउट भए । उनी छक्का हानेर शतक बनाउने मोह राख्दा क्याच आउट भएका हुन् । आशिफले ९७ बलमा ५ छक्का र ७ चौकाको मद्धतले ९४ रन बनाउँदा दोस्रो शतक बनाउन चुके । 

त्यस्तै आरिफ शेखले २४ बलमा ४३ रन बनाए । उनले अन्तिम ओभरमा लगातार तीन छक्का हानेका थिए ।

अर्जुन कुमाल ८७ बलमा ४८ रन बनाएर आउट भए । दिपेन्द्र सिंह ऐरीले ४२ बलमा ३३ रन बनाए । गुल्सन झाले २३ बलमा १७ रन बनाए । 

कप्तान रोहित पौडेल फेरि फ्लप सावित भए । उनले १६ बलमा नौ रनमात्र बनाए । विनोद भण्डारी डकआउट  भए । 

यो श्रृंखलामा पहिलो खेलमा ओमानसँग १०२ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा बदला लिएको हो । यो श्रृंखलामा नेपालले यसअघि भएका तीन खेलमा यूएईलाई दुवै खेलमा हराएको थियो भने ओमानसँग पराजित भएको थियो । 

तेस्रो खेलमा नेपालले यूएईमाथि मात्र छ रनको सनसनीपूर्ण जित हासिल गरेको थियो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार शतकको मद्धतले ७ विकेटको क्षतिमा २८९ रन बनायो । 

ऐरीले ९४ बलमा १०० रन बनाएका हुन् । विनोद भण्डारिले ७९ बलमा ५६, गुल्सन झाले ३८ बलमा ४४ तथा कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रन बनाए । 

जवाफमा वर्षाले प्रभावित खेलमा ३८ ओभरमा २५५ रनको चुनौती पाएको यूएईले ८ विकेटको क्षतिमा २४८ रन बनाएपछि ६ रनले पराजित भयो । 

मुहुम्मद शहदादले ६५ तथा खुजैमा तन्वीरले २६ बलमा ४९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामि र नन्दन यादवले समान २ विकेट लिए ।  यसअघिको खेलमा नेपालले यूएईमाथि ३७ रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १७:०१
प्रतिक्रिया दिनुहोस्