सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपालगञ्जमा जेनजी आन्दोलनका दुई सहिदको अर्धकदको शालिक निर्माण गरिएको छ । भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौंमा सहादत प्राप्त गरेका नेपालगञ्ज धम्बोझीका दुई जना सहिद ई। सुलभराज श्रेष्ठ र आयुष थापाको अर्धकदको शालिक निर्माण गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र भवनको हाताभित्र स्वर्गीय श्रेष्ठ र थापाको अर्धकदको शालिक निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल तथा सहिदद्वयका आमाबुवाले संयुक्तरुपमा शालिकको अनावरण गरेका हुन् । सहिदद्वयको स्मृतिमा वडा नम्बर १ ले योग तथा खोप केन्द्र भवन र ओपन जिम पार्क निर्माण समेत गरेको वडा अध्यक्ष रिजालले बताए ।
नगर प्रमुख विष्टले आजै भवन र पार्कको उद्घाटन पनि गरे । नगर प्रमुख विष्टले सहिदलाई साक्षी राख्दै जनआकांक्षा र नागरिक हितमा काम गर्न सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता औंल्याए । रिजालले वडा नम्बर १ लाई खेलकुदको हब बनाउन पर्यत्नरत रहेको बताए ।