पत्रकारितामा अराजकता अस्वीकार्य: पत्रकार महासंघ बाँकेको चेतावनी

बुधबार, वैशाख १६, २०८३

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले हालै सार्वजनिक सरोकारसँग जोडिएका केही घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शाखाले एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारिता पेशा उच्च नैतिकता, जिम्मेवारी तथा आचारसंहितामा आधारित हुनुपर्नेमा जोड दिएको छ ।

महासंघले सम्पूर्ण पत्रकारहरूलाई आचारसंहिताको पूर्ण पालना गर्दै मर्यादित, व्यवसायिक र जिम्मेवार ढंगले सञ्चारकर्म गर्न आग्रह गरेको छ । सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तीमा पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि महासंघको मूल्य, मान्यता र धर्मभित्र नपर्ने स्पष्ट पारिएको छ । साथै, आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैबीच, भेरी अस्पतालसँग सम्बन्धित पछिल्लो घटनाप्रति महासंघ बाँके शाखाले गम्भीर चासो व्यक्त गरेको छ । उक्त घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । साथै, घटनामा संलग्न दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्न पनि जोडदार माग गरिएको छ ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गर्दै पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षाका पक्षमा सधैँ दृढ रहने प्रतिबद्धता व्यक्त गरेको छ । तर, पत्रकारका नाममा गरिने अराजकता तथा आचारसंहिता विपरीतका गतिविधिप्रति कुनै समर्थन नरहने स्पष्ट पारेको छ ।

महासंघले सम्पूर्ण पत्रकारहरूलाई सत्य, निष्पक्षता र जिम्मेवारीका मूल्य-मान्यतामा अडिग रहँदै आफ्नो पेशागत दायित्व गम्भीरतापूर्वक निर्वाह गर्न अपिल गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  २१:११
प्रतिक्रिया दिनुहोस्